ज्यान मार्ने धम्की दिएर बलात्कार गर्ने पक्राउ

ज्यान मार्ने धम्की दिएर युवतीलाई जंगलमा लगी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ रुपाकोट मझुवागढी-५ घर भई हाल इटहरी-८ गैसार बस्ने २१ वर्षीय विजय राई छन्।

राईले इटहरीकी एक युवतीलाई कात्तिक १० गते बिहान तरहरा जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

भनेको नमाने ज्यान नै लिने र परिवारको सदस्यलाई समेत मार्ने धम्की दिएर ती युवकले मोटरसाइकलमा चढाएर जंगलमा लगी ती युवतीलाई करणी गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

तरहरा जंगलमा लगेर जबरजस्ती करणी गरेको र पीडितले लगाएको सुनको सिक्री समेत लुटेर फरार भएको जाहेरी आएपछि राईलाई पक्राउ गरिएको भण्डारीले बताए।

घटनामा प्रयोग भएको को ३८ प ८५४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ। राईलाई करणीसम्बन्धी कसूरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस