सांस्कृतिक रूपान्तरणका भड्खारा

शारीरिक होस् या बौद्धिक, श्रम नै संस्कृतिको जननी मानिन्छ । खास प्रकृतिको श्रमबाट जन्मिन पुगेको संस्कृतिले फेरि आफैं नयाँ संस्कृतिलाई जन्म दिन थाल्छ । मानव जीवनमा निरन्तर यसरी प्रत्येक श्रमको नयाँ तरिकासँगै नयाँ संस्कृतिको पनि निरन्तर जन्म हुँदै जान्छ अनि पुरानो र जीवनको प्रगतिसँग मेल नखाने संस्कृति हराउँदै जान्छ ।

श्रम, संस्कृति र फेरि नयाँ प्रकृतिको श्रमसँग सम्बन्धित यो स्वाभाविक नियमको चक्र वर्गीय समाजको उदयपछि भने स्वाभाविक रूपमा गतिवान् हुन पाएन बरु त्यस प्रक्रियामा निरन्तर टकराव, ठहराव र क्रमभंगता देखा पर्दै आएका छन् । यस्तो हुनुको मुख्य कारण समाज वर्गहरूमा विभक्त हुनु नै हो । राजा ईश्वरको प्रतिनिधि रूप हुने, त्यसैले ऊ भूपति हुने र उसको शासक वर्ग सामन्त हुने संस्कृतिलाई त्यस वर्गले निरन्तर जोगाउन चाहनु स्वाभाविक भयो, त्यसको विरुद्धमा जमिनमा काम गर्ने किसान जमिनको मालिक बन्न पाउने संस्कृति बनाउन लाग्नैपर्ने भयो । यसरी वर्गीय समाजको निरन्तरतासँगै संस्कृति पनि स्वत: वर्गीय बन्न पुग्यो र सांस्कृतिक संघर्ष वर्गीय राजनीतिक संघर्षको एउटा मुख्य मुद्दाका रूपमा अगाडि आयो । यही अनिवार्य आवश्यकताले गर्दा सामन्दवादविरोधी पुँजीवादी क्रान्ति सुरु भएदेखि आजसम्मका सबै राजनीतिक क्रान्तिले नयाँ संस्कृति निर्माणको मुद्दालाई आफ्नो एक अभिन्न लक्ष्य बनाउँदै आए र बनाइरहेछन् ।

साधारण व्यावहारिक जीवनमा संस्कृति भन्नाले रीतिरिवाज, चाडपर्व, गानाबजाना, जात्रा, अनुष्ठानहरूलाई बुझिने गरिए पनि संस्कृतिको आयाम यतिमै सीमित छैन । सरल भाषामा परिभाषा गर्दा मानिसले हात र मस्तिष्क प्रयोग गरेर निर्माण गरेका सम्पूर्ण भौतिक तथा बौद्धिक सामग्री संस्कृति हो । संस्कृतिभित्रका यी व्यापक अंगमध्ये भौतिक संस्कृतिका क्षेत्रमा मानिसको रूपान्तरण सबैभन्दा छिटो हुने गर्छ । जस्तै, जतिसुकै धमभीरु होस् विज्ञानले दिएका सुविधा लिन लालायित नै हुन्छ । इसाईले बनाएको भन्दैमा अन्य धार्मिकले हवाईजहाज चढ्ने अवसर त्याग्दैन तर परम्परागत विचार एवं भाष्य, जीवन पद्धति, धर्म, चालचलनजस्ता बौद्धिक संस्कृतिका क्षेत्रमा रूपान्तरण भने निकै धिमा गतिमा हुने गर्छ । शासक वर्गको पुरानो सुविधामय हैसियत खस्किने चिन्ता र आम उत्पीडित समाजको परम्परागत रूढिगत लतका कारण बौद्धिक संस्कृतिमा रूपान्तरण धिमा हुने गर्छ । मानव समाजलाई खास युगको आवश्यकताअनुसार अनुशासित, भयमुक्त, सामाजिक र गतिशील बनाउन जीवन व्यवहारका निश्चित नियम स्थापित गरिएका हुन्छन्, जुन नियम व्यक्तिले सामाजिक हुन मान्नैपर्छ— ती चाहिँ संस्कार हुन् । धर्मको युग सुरु भएपछि संस्कारलाई धर्मको अनिवार्य र कठोर अंग बनाइएको हो । त्यसकारण संस्कार संस्कृतिको सानो अंश त हो तर त्यसमा रूपान्तरणचाहिँ सबैभन्दा कठिन हुने गर्छ । यस्तो यसकारण हुन जान्छ कि धर्मका आदेशहरू जस्तै संस्कारका नियम पनि अनुल्लंघनीय हुन्छन् र व्यक्तिले त्यसलाई उल्लघंन गर्दा सिंगै समाज व्यक्तिविरुद्ध उभिन पुग्छ ।

संस्कृति र सांस्कृतिक रूपान्तरणसम्बन्धी यस आम प्रक्रियामा राजनीतिक आन्दोलनको हस्तक्षेपकारी भूमिकाको सर्वाधिक महत्त्व रहँदै आएको छ । राजनीतिक आन्दोलन वा परिवर्तनका वाहकहरूले दृढतापूर्वक रूपान्तरणको दिशामा काम गर्दा संस्कृतिका क्षेत्रमा वा संस्कृतिभित्रको सबैभन्दा जमेर बस्ने संस्कारका क्षेत्रमा पनि तीव्र परिवर्तन भएका प्रशस्त उदाहरण छन् तर नेपालमा भने त्यस्तो सांस्कृतिक तीव्र रूपान्तरण विगत सत्तरी वर्षमा गुणात्मक रूपमा प्राप्त हुन सकेन । आज नेपाली समाज सबै वस्तुलाई माल (कमोडिटी) बनाउने पुँजीवादी अर्थ–राजनीतिक समाज बनिसक्यो तर संस्कृतिका क्षेत्रमा भने सामन्तवादी संस्कृतिको जबरजस्त कोपका बीचमा छ । संस्कारका क्षेत्रमा वैज्ञानिकीकरण त धेरै परको क्षितिजमा पनि दृष्टिगोचर भइरहेको छैन । सामन्तवादी संस्कृति जबरजस्त भएको समाजबाट पुँजीवादी गलत संस्कृतिलाई समेत पन्छाएर समाजवादी संस्कृतिको निर्माण यात्रामा कुन बिन्दुबाट नेपालको चालु राजनीतिले लैजान्छ ? त्यसबारे छेकछन्द अलप छ ।

राजनीतिक व्यवस्थामा परिवर्तन सँगसँगै संस्कृतिमा पनि परिवर्तनलाई तीव्रता दिइएन भने नयाँ राजनीतिक व्यवस्था पुरानै खराब संस्कृतिको दास बन्न पुग्दोरहेछ भन्ने ज्वलन्त उदाहरण धर्मनिरपेक्ष भारतमा बाबरी मस्जिदमाथि भएको विध्वंसदेखि आजको हिन्दुत्व राजले छर्लंगै देखाएकै छ । भनिन्छ, टर्कीका राजनेताहरूले जुन दिनबाट हात मिलाउने (ह्यान्डसेक) परम्परा सुरु गरे, त्यही बिन्दुबाट इस्लामिक पुरातनपन्थीय संस्कृतिबाट खुला इस्लामबहुल राष्ट्र निर्माण सुरु भयो । बौद्धिक संस्कृतिमा रूपान्तरण नगर्ने हो भने भौतिक प्रगति जति भए पनि अमानवीय समाज त चलि नै रहँदोरहेछ भन्ने उदाहरण महिलाका सन्दर्भमा आज विश्वव्यापी उदांगै छ । सिंगो अरब तेलको पैसाले मैमत्त छ तर पितृसत्तावादको संस्कृति नबदल्नाले महिलाको जीवन दासत्वपूर्ण छ । युरोप, अमेरिकाका ब्यांकहरू पैसाले भरिभराउ छन् तर महिला उत्पीडनका नयाँ नयाँ प्रवृत्ति झाँगिएकै छन् । यहाँसम्म प्रस्ट भइसक्यो कि जात व्यवस्थाको संस्कृति कायम राखेर विकास गरिएको पुँजीवाद स्वयं जात व्यवस्थामा आधारित पुँजीवाद हुँदोरहेछ । भारत र नेपालको पुँजीवादलाई नजिकबाट हेर्दा यो चित्र सजिलै देखिन्छ । यसप्रकार संस्कृति सर्वथा स्वतन्त्र रहन्छ भन्ने अध्यात्मवादीहरू हुन् या उत्पादनको मानव गतिविधि फेरिएपछि स्वत: संस्कृति फेरिन्छ भनी बुझ्ने मार्क्सवादका भद्दा अनुयायीहरूको व्याख्या— संस्कृतिका मामलामा सही कदापि प्रमाणित हुँदैन । बरु राजनीतिक आन्दोलनले नयाँ व्यवस्था निर्माणका निम्ति सांस्कृतिक रूपान्तरणको अभियानलाई पनि अनिवार्य रूपमा कष्टसाध्य एजेन्डा सदैव बनाउनैपर्छ भन्ने यथार्थ पो सामुन्ने आइपुग्छ ! कुनै पनि प्रगतिशील परिवर्तनलाई दीर्घजीवी बनाउन त्यस अनुकूलको सांस्कृतिक जगको सिर्जना अनिवार्य हुने यथार्थलाई आत्मसात् गर्नुको विकल्प छैन ।

वि.सं. २०४६ सम्म नेपालको राज्यले सामन्तवादी निरंकुश संस्कृतिलाई कार्यकारी बनायो । बहुदलीय संसदीय व्यवस्थाले पनि त्यस संस्कृतिलाई विस्थापित गर्न योजनाबद्ध अभियान चलाएन, बरु मूलत: पुरानैलाई सहवरण गर्न पुग्यो, व्यवस्थाजन्य अनिवार्य आवश्यकताका क्षेत्रमा बाहेक खासै सांस्कृतिक रूपान्तरणलाई कुनै ठोस एजेन्डा बनाइएन । आजको सत्ता, त्यसलाई सञ्चालन गर्ने पार्टी र तिनका नेतामा प्रकट भइरहेका सांस्कृतिक विकारहरूले पनि यही तथ्य अगाडि ल्याएको छ कि सांस्कृतिक रूपान्तरण र नयाँ प्रगतिशील संस्कृति निर्माणको एजेन्डा भगवान् भरोसे नै लथालिंग छाडिएको छ । अझ कम्युनिस्ट नामका सत्ताधारीहरूमा त हिजोको रहलपहल प्रगतिशील सांस्कृतिक विरासतलाई तँछाडमछाड गरेर विसर्जन गरिरहेकाहरूको भीड नै ठूलो देखिन्छ । पार्टीका नेताहरूले कमिसनका निम्ति सेटिङ मिलाउनु, बिल मिलाएर भ्रष्टाचार गर्नुजस्ता विषय सक्षमताको पर्यायका रूपमा स्थापित भएका छन् । पार्टीभित्रका महिला कार्यकर्तामाथि यौन दुर्व्यवहार अब सरोकारका विषय बन्न छाडेका छन् । जति धेरै आर्थिक रवाफ खडा गर्न सफल भयो, त्यत्ति नै लायक मानक बनिरहेछन् । समग्रमा सत्ता र सत्ताधारी पार्टीहरूका सांस्कृतिक गतिविधिले नेपाली समाजलाई धर्मान्ध, तल्लो स्तरको स्वार्थी र लोभी, महिलापीडक र अमानवीय अर्थमानवको झुन्ड बनाउनेतिर धकेलिरहेको छ । आखिर पटक पटकको राजनीतिक आन्दोलन र परिवर्तनपछि पनि नेपाली समाज सांस्कृतिक रूपमा दिशाहीन किन छ ? यस प्रक्रियालाई नेतृत्व गर्ने संगठन र व्यक्तिहरू हरेक पटक आफ्ना आन्दोलनकालीन पूर्वमान्यता र व्यवहारबाट समेत च्युत हुने झुर परिघटना किन देखा पर्छ ? यसबारे गम्भीर बहसको आवश्यकता टड्कारो बनेको छ ।

यस्तो स्थिति सिर्जना हुनुका पछाडि मूलत: दुइटा कारण देखिन्छन् । एक, राजनीतिक उद्देश्यमा विचलन हुनु । दुई, सांस्कृतिक रूपान्तरणको कार्ययोजना नहुनु । नेपालमा अहिले सत्ताधारी रहेका नेकपा (नेकपा) होस् या नेपाली कांग्रेस पार्टी यी दुवै नै आफ्नो राजनीतिक लक्ष्य–उद्देश्यबाट भड्किएका र स्खलित भएकाहरू हुन् । भूमिसुधार, रूढिवादको अन्त्य, सामन्तवादको विरोध, साम्राज्यवादी आर्थिक नीतिको विरोध, राष्ट्रिय स्वाधीन अर्थतन्त्र निर्माण, शोषणको अन्त्यजस्ता आधारभूत राजनीतिक लक्ष्य उद्देश्य उनीहरूले जुन विगतमा बोकेका थिए, त्यही लक्ष्यमा आधारित सांस्कृतिक व्यवहार र सांस्कृतिक नीति पनि त्यतिबेला उनीहरूलाई जरुरी थियो तर हिजोका ती आधारभूत लक्ष्य उद्देश्य परित्याग गरेर विश्व पुँजीवादले जताजता बत्ताउँछ, त्यतै जाने र संसदीय राजनीतिमा सफल हुन जे पनि गर्ने नीति बोकेपछि स्वाभाविक रूपमा सांस्कृतिक व्यवहार पनि स्खलित हुनुको विकल्प अरू के होस् ? यसरी राजनीतिमा आएको विचलनले संस्कृतिका क्षेत्रमा ल्याएको असर एउटा मुख्य पक्ष हो, जसलाई स्पष्ट रूपमै देख्न सकिन्छ । त्यसबाहेक राजनीतिक आन्दोलनसँग विगतदेखि सांस्कृतिक रूपान्तरणको आवधिक कार्ययोजना नहुनुले पनि आजको सांस्कृतिक दुरवस्था सिर्जना हुन पुगेको सन्दर्भलाई अझ मिहिन रूपमा अध्ययन गरिनु आवश्यक छ ।

सामन्तवादका विरुद्ध पुँजीवादी लोकतान्त्रिक क्रान्ति गर्ने लक्ष्यबाट सुरु भएको नेपाली कांग्रेस पार्टीको धाराले सांस्कृतिक रूपान्तरणको विषयलाई ठोस रूपमा कहिल्यै पनि पार्टी एजेन्डा बनाएको पाइन्न । सामन्तवादलाई अन्त्य गरेपछि स्वत: पुँजीवादी लोकतान्त्रिक राजनीति हुन्छ र संस्कृति पनि त्यस्तै बन्दै जान्छ भन्ने सरलीकृत बुझाइ त्यस धारामा देखिन्छ । कम्युनिस्ट पार्टीहरूले चाहिँ श्रमिकवादी वैज्ञानिक संस्कृति निर्माणलाई आफ्नो राजनीतिक कार्यक्रममा सधैंभरि गम्भीर लक्ष्यका रूपमा नीतिहरू किटान गर्दै आए । पार्टी जीवनमा अनिवार्य रूपमा पालना गर्नैपर्ने सांस्कृतिक आचारसंहिता पनि लागू गर्दै आए । कतिपय कम्युनिस्ट पार्टीहरूले त क्रान्तिपछि मात्र सांस्कृतिक क्रान्ति होइन, बरु अहिलेदेखि सांस्कृतिक रूपान्तरणलाई राजनीतिक क्रान्तिसँगै अभिन्न अंग बनाएर लैजानुपर्ने निष्कर्षसमेत निकाले । समग्रमा भन्दा कम्युनिस्ट आन्दोलनले सांस्कृतिक क्रान्ति वा सांस्कृतिक रूपान्तरणको नीति र लक्ष्य जहिले पनि तयार पार्‍यो तर त्यो नीतिलाई लागू गर्न आवधिक कार्ययोजनाचाहिँ प्राय: कहिल्यै बनाएन । कुनै पनि नीति आवधिक कार्ययोजनाबिना लागू हुन सम्भव नै हुँदैन, एउटा मुख्य बिब्ल्याँटो सांस्कृतिक रूपान्तरणका सन्दर्भमा कम्युनिस्ट आन्दोलनमा यहीँनेर थियो । यही कारणले गर्दा सांस्कृतिक रूपान्तरणको नीति या त व्यक्तिले स्वेच्छाले लागू गरे हुने स्तरमा रह्यो, या त जनयुद्ध, जनआन्दोलनजस्ता भीषण राजनीतिक वर्गसंघर्षको चापको बीचमा मात्र बाध्यात्मक रूपमा लागू हुने स्थिति बन्न पुग्यो ।

स्वैच्छिक रूपमा गरिने सांस्कृतिक रूपान्तरणको प्रयत्न वैयक्तिक एवं धिमा गतिमा हुने भइहाल्यो, राजनीतिक वर्गसंघर्षको चापका कारण देखा पर्ने रूपान्तरणकारी व्यवहार त्यो बाध्यात्मक चाप नहुँदा प्रतिगमनमा जान सक्ने सहज सम्भावना छँदै थियो । सिंगै गाउँ टोल कम्युनिस्ट पार्टीमा संगठित छ, राजनीतिक रूपमा जे गर्न पनि तयार छ तर रजस्वला बार्नुपर्ने रूढिचाहिँ जस्ताको तस्तै बीसौँ वर्षदेखि किन बाँकी भयो ? सामन्तवादविरोधी राजनीतिक आन्दोलनको गढ बस्तीहरूमा बोक्सीको आरोपमा महिलाहरू मारिने स्थिति कसरी बन्यो ? यस्ता प्रश्नको उत्तर स्पष्ट नै छ कि पार्टीहरूले सांस्कृतिक रूपान्तरणको नीतिलाई यति समयभित्र यति रूपान्तरण गरिसक्ने भन्ने आवधिक कार्ययोजनामा ढालेनन्, फगत नीतिकै रूपमा मात्र लट्काइराखे । तसर्थ आज राज्य, सत्ताधारी पार्टीहरू र तिनका नेता कार्यकर्तामा प्रकट भएको सांस्कृतिक दिशाहीनता एवं स्खलनबाट नयाँ युगको नयाँ पुस्ता र नयाँ राजनीतिक आन्दोलनले आत्मसात् गर्नुपर्ने शिक्षा के हो भने सही राजनीतिक दिशा र सांस्कृतिक रूपान्तरणको केवल नीतिले मात्र पुग्दैन, बरु सांस्कृतिक रूपान्तरणको आवधिक कार्ययोजनासहितको राजनीतिले मात्र भविष्यको समाजलाई उन्नत नयाँ संस्कृतितिर लैजान हस्तक्षेपकारी भूमिका खेल्न सक्छ ।

साभारः https://ekantipur.com/opinion/2019/11/03/157275021424222302.html

प्रतिक्रिया दिनुहोस