डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो ‘स्टेट अफ द युनियन’ सम्बोधन गर्दै आफ्नो प्रशासनले अर्थतन्त्र, सुरक्षा र विदेश नीतिमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेका छन्। घट्दो अनुमोदन दर र नजिकिँदो मध्यावधि चुनावको सन्दर्भमा आएको यो सम्बोधन उनको पहिलो कार्यकालकै सबैभन्दा लामो भाषण बनेको छ। काङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकी अर्थतन्त्र अपेक्षाभन्दा बलियो रहेको जिकिर गरे। “हाम्रो देश फेरि जित्दैछ,” उनले भने, “मतदाताले रिपब्लिकनलाई साथ दिए अझ धेरै प्रगति सम्भव छ।”

व्यापार र सर्वोच्च अदालतप्रति टिप्पणी

भाषणमा उनले सैन्य कारबाही, व्यापार नीति र आप्रवासन नियन्त्रणलाई उपलब्धिका रूपमा प्रस्तुत गरे। आयात शुल्कसम्बन्धी सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले वैकल्पिक कानुनी प्रावधान प्रयोग गरेर अगाडि बढ्ने सङ्केत दिए। “काङ्ग्रेसको कार्य आवश्यक नपर्न सक्छ,” उनले भने। सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन रोबट्र्ससहित केही न्यायाधीश सम्बोधनका क्रममा प्रतिनिधिसभा कक्षमा उपस्थित थिए। शुल्कसम्बन्धी प्रसङ्ग उठ्दा डेमोक्रेट सांसदहरूले स्वागत जनाए पनि अन्य विषयमा तीव्र विरोध देखियो। क्यालिफोर्नियाका मार्क टाकानो र मिशिगनकी रशिदा तलैबले खुला आलोचना गरे भने टेक्सासका अल ग्रीनलाई विरोध प्रदर्शनपछि कक्षबाट बाहिर निकालियो।

आप्रवासन र निर्वाचन सुधार प्रस्ताव

राष्ट्रपतिले आप्रवासनविरुद्ध कडा सन्देश दिँदै “अवैध विदेशी होइन, अमेरिकी नागरिकको रक्षा” प्राथमिकता भएको बताए। उनले मेल–इन मतपत्र सीमित गर्ने र मतदाता परिचय कडा पार्ने प्रस्तावसमेत अघि सारे।  यद्यपि जीवनयापनको बढ्दो लागत, स्वास्थ्य खर्च र सुस्त आर्थिक वृद्धिजस्ता विषयले अपेक्षाकृत कम स्थान पाए। उच्च मूल्यवृद्धिको दोष डेमोक्रेटमाथि लगाउँदै ट्रम्पले “त्यो समस्या तपाईंहरूले सिर्जना गर्नुभयो” भने।

सम्मान र भावनात्मक क्षण

भाषणका क्रममा ओलम्पिक स्वर्ण विजेता अमेरिकी पुरुष हक्की टोलीलाई सम्मान गरिएको थियो। गोलकिपर Connor Hellebuyckलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ प्रदान गर्ने घोषणा गरिएको थियो भने नेसनल गार्ड सदस्य एन्ड्र्यु वोल्फलाई ‘पर्पल हार्ट’ दिइएको जानकारी गराइयो। दुवै दलका सांसदहरूले उभिएर अभिवादन गरेका थिए। सन् २०२० मा रेडियो होस्ट Rush Limbaughलाई दिइएको सम्मानको पनि स्मरण गराइयो।

विदेश नीतिमा कडा चेतावनी

विदेश नीतितर्फ ट्रम्पले इरानलाई “आणविक हतियार कहिल्यै राख्न नदिने” चेतावनी दोहोर्‍याए। मध्यपूर्वमा दुई अमेरिकी विमानवाहक पठाइएको सन्दर्भ उल्लेख गर्दै उनले कूटनीतिक समाधान प्राथमिकता भए पनि आवश्यक परे कठोर कदम चाल्ने बताए। उनले तेहरानमाथिको हवाई आक्रमण तथा भेनेजुएलामा निकोलस मदुरोविरुद्ध गरिएको कारबाहीको प्रशंसा गरे।

डेमोक्रेटिक प्रतिक्रिया

डेमोक्रेटिक पार्टीको प्रतिक्रिया दिँदै भर्जिनियाकी गभर्नर एबिगेल स्प्यानबर्गरले शुल्क नीति, आप्रवासन कदम र सङ्घीय खर्च कटौतीको आलोचना गरिन्। “सर्वोच्च अदालतले शुल्क खारेज गरे पनि क्षति भइसकेको छ,” उनले भनिन्। मध्यावधि चुनाव नजिकिँदै गर्दा आएको यो लामो सम्बोधनले ट्रम्प प्रशासनको राजनीतिक सन्देश र चुनावी रणनीति स्पष्ट रूपमा प्रस्तुत गरेको विश्लेषकहरूले बताएका छन्।