काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले बाहिरी ग्रहमा जीवन र अज्ञात उडनतस्तरी (UFO) सम्बन्धी सरकारी अभिलेख सार्वजनिक गर्ने प्रक्रिया सुरु गर्न पेन्टागन र अन्य सङ्घीय निकायलाई निर्देशन दिने भएका छन्।

ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जालमा जनचासो बढेको भन्दै यस्तो कदम चाल्ने घोषणा गरेका हुन्। उनले भनेका छन् कि एलियन, बाह्य ग्रहमा जीवन, अज्ञात हवाई घटना र उडनतस्तरीसँग सम्बन्धित सरकारी फाइलहरू पहिचान गरी सार्वजनिक गर्ने प्रक्रिया सुरु गर्न रक्षा विभाग र सम्बन्धित निकायलाई निर्देशन दिइनेछ।

हाल ती अभिलेखमा कस्तो जानकारी छ वा कहिले सार्वजनिक हुने भन्नेबारे विवरण भने सार्वजनिक गरिएको छैन। पछिल्ला वर्षहरूमा पेन्टागनले ग्ँइ सम्बन्धी घटनाहरू सङ्कलन, निगरानी र अनुसन्धान गर्ने प्रयास बढाएको छ। रक्षा मन्त्रालयअन्तर्गतको अल डोमेन एनोमली रिजोल्युसन अफिसले सन् २०२४ को प्रतिवेदनमा अहिलेसम्म बाह्य ग्रहमा जीवनको कुनै प्रमाण फेला नपरेको दोहोर्‍याएको थियो।

ट्रम्पको टिप्पणी पूर्व राष्ट्रपति बाराक ओबामा को अभिव्यक्तिपछि आएको हो। ओबामाले पोडकास्ट अन्तर्वार्तामा एलियनको सवालमा “तिनीहरू वास्तविक हुन सक्छन्, तर मैले देखेको छैन” बताएका थिए। अमेरिकामा अज्ञात उडनतस्तरी र एलियनबारे लामो समयदेखि सार्वजनिक चासो रहेको छ। केही षड्यन्त्र सिद्धान्तहरूले सरकारले प्रमाण लुकाइरहेको दाबी गर्दै यस विषयमा चासो झन् बढाएको छ। सन् २०२३ मा प्रतिनिधिसभा सुनुवाइमा तीन पूर्वसैनिक अधिकृतहरूले ग्ँइ को घटना राष्ट्रिय सुरक्षासँग सम्बन्धित भएको र सरकारले अत्यधिक गोपनियता अपनाएको बताएका थिए।