कञ्चनपुर । प्रतिनिधि सभाको आसन्न निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसार तीव्र बनेको छ । उम्मेदवारहरू आफ्ना एजेन्डा बोकेर मतदातामाझ पुगिरहेका छन् । तर, सबै मतदाता भने चुनावी माहोलप्रति उत्साहित छैनन् । दैनिक जीविकोपार्जनकै संघर्षमा रहेका कतिपय नागरिकलाई चुनावी प्रतिबद्धता ‘निन्द्रामा देखिने सपना’ जस्तै लाग्न थालेको छ ।
स्थलगत रिपोर्टिङका क्रममा भेटिएका केही मतदाताले विगतका ५–७ वटा निर्वाचनमा मतदान गरिसक्दा पनि आफ्नो जीवनस्तरमा कुनै परिवर्तन नआएको गुनासो गरे । चुनावअघि गरिएका प्रतिबद्धता चुनाव सकिएलगत्तै बिर्सिने गरिएको उनीहरूको अनुभव छ ।
वेदकोट नगरपालिका–५ का गणेश लोहार यस्तै प्रतिनिधिमूलक मतदाता हुन् । पेसाले आरन व्यवसायी रहेका उनी पछिल्लो समय कामको अभाव र स्वास्थ्य समस्याले थलिएका छन् । “पहिलाजस्तो काम आउँदैन । खेती गर्ने चलन घट्यो, कुटो–कोदालो बनाउने काम हराउँदै गयो,” उनले भने, “कुनै दिन त आरनमा आगो नै बाल्नु पर्दैन । काम नभएपछि के खाने भन्ने चिन्ता हुन्छ ।
उनसँग खेती गर्ने जमिन छैन । बारम्बार पेट दुख्ने समस्याले पीडित भए पनि उपचारका लागि पैसा अभाव छ । घरमा वृद्ध आमा छन् । “आफू त भोकै बसौँला, आमालाई कसरी भोकै राख्नु रु” भन्दै उनले घरमा अन्न नहुँदा खोले खाएर गुजारा चलाउनु परेको सुनाए । निर्वाचनबारे उनी निराश देखिन्छन् । “पहिला कति भोट हालियो, केही भएन । अब भोट हालेर के होला र रु” भन्ने उनको प्रश्नमा राजनीतिक प्रणालीप्रतिको वितृष्णा झल्किन्छ ।
त्यस्तै, वेदकोट–३ की पार्वतीदेवी रोस्यारा पनि चुनावप्रति आशावादी छैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएकी उनी हाल प्लास्टिकले बेरेको छाप्रोमा बस्दै दैनिक मजदुरी गरेर जीविका चलाइरहेकी छन् । हामीसँग न घर छ, न जग्गा,” उनले भनिन्, “पहिला ऐलानी जग्गामा खेती गरेर गुजारा चल्थ्यो । निकुञ्ज विस्तार भएपछि दुःख सुरु भयो ।” चुनावका बेला बसोबासको व्यवस्था मिलाइदिने आश्वासन पाए पनि अहिलेसम्म कुनै ठोस पहल नभएको उनको गुनासो छ ।
“पहिला भोट माग्दा घर–जग्गा दिलाइदिन्छु भने । होला त भनेर भोट दियौँ । अहिले त कोही फर्केर पनि आएका छैनन्,” उनले भनिन् । गणेश र पार्वतीजस्ता मतदाताका लागि विकासका ठूला आयोजना, सङ्घीयता वा समावेशीता जस्ता एजेन्डाभन्दा पनि दैनिक छाक टार्ने, उपचार पाउने र सुरक्षित बसोबासको सुनिश्चितता प्राथमिक आवश्यकता बनेको छ ।
निर्वाचनको माहोल चर्किंदै जाँदा यस्ता नागरिकको मौन निराशा राजनीतिक दलहरूका लागि गम्भीर प्रश्न बनेको छ—विकासका नाराभन्दा आधारभूत जीवनस्तर सुधारको प्रत्याभूति कहिले रु