काठमाडौं । निर्वाचन आयोग ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभर मदिरा बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ। मतदानको सात दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मदिरा निषेध गर्ने निर्णय गरिएको हो।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ। निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई कडा निर्देशन दिइएको छ।

निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम मदिरा बिक्री–वितरण वा सेवन गरी आचारसंहिता उल्लंघन गरेमा तत्काल कारबाही गरिने आयोगले स्पष्ट पारेको छ। उल्लंघनका घटनामा प्रचलित कानुनअनुसार स्थलगत कारबाही गरी जानकारी आयोगमा पठाउन ‘जिल्ला आचारसंहिता अनुगमन समिति’ लाई निर्देशन दिइएको छ।

यसैबीच, फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारमा पूर्ण रोक ९मौन अवधि० लाग्नेछ। मतदानको दिन फागुन २१ गते एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा पास प्राप्त सवारीसाधनबाहेक अन्य सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। सवारी साधनसम्बन्धी प्रतिबन्ध फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म लागू रहने आयोगले जनाएको छ।