भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन्।
निकटतम प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवाललाई ५ हजारभन्दा बढी मतान्तरले पछि पार्दै रन्जितले जीत हासिल गरेका हुन्। अन्तिम मतपरिणाम अनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दा सुवालले २८ हजार १४७ मत पाएका छन्।
यसैगरी नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन्।
भक्तपुर–१ लाई नेमकिपाको बलियो किल्लाका रूपमा हेरिँदै आएको थियो। तर यसपटक भने रास्वपाका रन्जितले उक्त किल्ला भत्काउँदै उल्लेखनीय जित हासिल गरेका हुन्।