श्रीलङ्का । श्रीलङ्कामा सन् २०१९ को इस्टर सन्डे बम विस्फोट प्रकरणले सात वर्षपछि नयाँ मोड लिएको छ। देशका पूर्व गुप्तचर प्रमुख सेवानिवृत्त मेजर जनरल सुरेश सल्लेलाई बुधबार राजधानी कोलम्बोको उपनगरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।

अनुसन्धान अधिकारीहरूका अनुसार सल्लेमाथि इस्टर हमलाको योजनामा संलग्न व्यक्तिहरूसँग सम्पर्क राखेको तथा षड्यन्त्रमा सहयोग गरेको आरोप छ। उनले भने यसअघि सबै आरोप अस्वीकार गर्दै आएका छन्। अप्रिल २१ मा आक्रमणको सातौँ वार्षिकोत्सव नजिकिँदै गर्दा गरिएको यो गिरफ्तारीलाई लामो समयदेखि प्रतीक्षित कदमका रूपमा हेरिएको छ।

सन् २०१९ अप्रिल २१ मा भएका समन्वित आत्मघाती विस्फोटहरूमा ४५ विदेशी नागरिकसहित २७९ जनाको ज्यान गएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए। विस्फोटहरू कोलम्बोका तीन उच्चस्तरीय होटल, दुई रोमन क्याथोलिक चर्च र राजधानी बाहिरको एक इभान्जेलिकल चर्चमा गरिएका थिए। यो आक्रमण सन् २००९ मा तमिल पृथकतावादी युद्ध अन्त्य भएपछि नागरिकमाथि भएको सबैभन्दा घातक घटना मानिन्छ।

घटनापछि गोटाबाया राजापाक्ष राष्ट्रपति निर्वाचित भएका थिए र उनले इस्लामवादी चरमपन्थ उन्मूलन गर्ने प्रतिबद्धता जनाएका थिए। राष्ट्रपति बनेलगत्तै उनले सल्लेलाई राज्य गुप्तचर सेवा (एसआइएस) प्रमुखमा नियुक्त गरेका थिए। तर सन् २०२४ मा अनुरा कुमार दिसानायक राष्ट्रपति निर्वाचित भएपछि सल्लेलाई पदमुक्त गरिएको थियो।

यस प्रकरणमा बेलायती प्रसारण संस्था Channel 4 ले सन् २०२३ मा प्रसारण गरेको एक वृत्तचित्रमा सल्ले आक्रमणकारीहरूसँग जोडिएको दाबी गरिएको थियो। साथै, एक ह्विसलब्लोअरले राष्ट्रपति चुनावलाई प्रभावित पार्ने उद्देश्यले आक्रमण हुन दिइएको आरोपसमेत लगाएका थिए।

आक्रमणको जिम्मेवारी आतंकवादी संगठन Islamic State (आइएस) ले लिएको थियो। तर अनुसन्धानकर्ताहरूले प्रत्यक्ष विदेशी संलग्नता पुष्टि गर्ने ठोस प्रमाण फेला नपरेको बताएका छन्। यसैबीच, एक पूर्व जिहादी सदस्यले प्रारम्भिक चरणमा समूहलाई सैन्य गुप्तचर एकाइबाट आर्थिक सहयोग प्राप्त भएको दाबी गरेका थिए।

यस घटनासँग सम्बन्धित मुद्दामा संयुक्त राज्य अमेरिकाले पाँच अमेरिकी नागरिकको मृत्यु प्रकरणमा तीन श्रीलङ्कालीविरुद्ध मुद्दा दायर गरेको थियो। संयुक्त राष्ट्रसङ्घले पनि घटनासम्बन्धी अघिल्लो अनुसन्धानका केही गोप्य अंश सार्वजनिक गर्न आग्रह गरेको छ।

सर्वोच्च अदालतले तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनासहित चार वरिष्ठ अधिकारीलाई आक्रमण रोक्न असफल भएको ठहर गर्दै जरिवाना तिराउने फैसला सुनाएको थियो।

पूर्व गुप्तचर प्रमुखको पक्राउसँगै इस्टर बमकाण्डको वास्तविक योजनाकार र पृष्ठभूमि सार्वजनिक गर्नुपर्ने माग पुनः तीव्र भएको छ।