सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुनसरी जिल्लामा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार आयोजित सर्वदलीय बैठकमा सहभागी दलका प्रतिनिधिहरूले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन सहमति जनाएका हुन्। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार फागुन १२ गतेभित्र आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री र ब्यानर हटाउने निर्णय भएको छ। तोकिएको समयसीमाभित्र सामग्री नहटाए कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
बैठकले चुनावी प्रचारप्रसारका क्रममा चर्को आवाजमा डिजे प्रयोग नगर्ने तथा सामाजिक सद्भावमा असर पर्ने गतिविधि नगर्ने विषयमा पनि सहमति गरेको छ। यसले सर्वसाधारणलाई ध्वनि प्रदूषणबाट राहत मिल्ने अपेक्षा गरिएको छ।
सुरक्षातर्फ जिल्लाले उच्च सतर्कता अपनाएको जनाएको छ। प्रहरी उपरीक्षक केशव थेबेले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको बताए।
बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारी, नेकपा एमालेका सचिव राम कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति सागर दाहाल र जनता समाजवादी पार्टीका महेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो।
निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य सामग्री जिल्लामा आइपुगेका छन्। सुनसरीका चार निर्वाचन क्षेत्रमा १६७ मतदान स्थल तोकिएका छन्, जहाँ सुरक्षा र व्यवस्थापनका पक्षलाई मजबुत बनाइएको प्रशासनले जनाएको छ।