इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का तर्फबाट सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार अशोक चौधरीले कार्यक्रमका सहभागीलाई ‘देश विरोधी’ भनेपछि इटहरीमा विवाद उत्पन्न भएको छ। बिहीबार इटहरी जेसीजले आयोजना गरेको सुनसरी क्षेत्र नम्बर २ र ३ का उम्मेदवारबीचको ककस कार्यक्रमको अन्त्यतिर चौधरीको अभिव्यक्तिप्रति सहभागीहरू आक्रोशित बनेका थिए।
कार्यक्रममा बोल्दै चौधरीले कुनै पनि दलको स्पष्ट बहुमत नआए संविधानअनुसार एक वा एकभन्दा बढी दल मिलेर सरकार गठन गर्नुपर्ने अवस्था आउने बताए। उनले रास्वपाले यस निर्वाचनमा दुई तिहाइ बहुमतको लक्ष्य लिएको उल्लेख गर्दै देशको निकास र भविष्यका लागि एक दललाई स्पष्ट जनादेश दिन आवश्यक रहेको धारणा राखे।
उनले भने, “यदि परिवर्तन आवश्यक ठान्नु भएको छ भने दुई तिहाइ पुर्याउन तपाईंहरू पनि लाग्नुपर्छ। यदि तपाईं लाग्नुहुन्न भने अस्थिर सरकार चाहिरहनु भएको छ। तपाईं देश विरोधी हो, यसका लागि सचेत हुनुपर्छ। उनको उक्त अभिव्यक्तिपछि सहभागीहरूले आपत्ति जनाउँदै नाराबाजी गरेका थिए। केही समय ‘घण्टी मुर्दावाद’ लगायतका नारा लागेपछि कार्यक्रम अवरुद्ध बनेको थियो। चौधरीको भनाइप्रति अन्य उम्मेदवारहरूले पनि आलोचना गरेका छन्। लोकतान्त्रिक प्रतिस्पर्धामा फरक मत राख्ने मतदातालाई ‘देश विरोधी’ भन्नु अनुचित र अलोकतान्त्रिक भएको उनीहरूको टिप्पणी थियो।
ककस कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी–२ का उम्मेदवार राजीव कोइराला, नेकपा ९एमाले० का सुजन लामा, नेकपाकी उम्मेदवार रामकुमारी चौधरी, उज्यालो नेपालका गोपाल तामाङ लगायत विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूको सहभागिता रहेको थियो। इटहरी जेसीजले उम्मेदवारहरूलाई उत्तरदायी बनाउने तथा मतदातासँग प्रत्यक्ष संवाद गराउने उद्देश्यले ककस कार्यक्रम आयोजना गरेको जनाएको छ।