इरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि देशको शक्तिशाली धार्मिक–राजनीतिक संरचनामा नेतृत्व परिवर्तन भएको छ। इरानको विशेषज्ञ सभाले विस्तृत छलफलपछि खामेनीका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरेको घोषणा गरेको हो। अमेरिका र इजरायलसँग जारी युद्ध तथा तेहरानमा भएका हवाई आक्रमणबीच नेतृत्व परिवर्तन भएको यो घटनालाई इरानको राजनीतिक स्थिरता र शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ।
इरानको संविधानअनुसार देशको सर्वोच्च धार्मिक तथा राजनीतिक पदमा रहने व्यक्तिको छनोट गर्ने अधिकार विशेषज्ञ सभा ९ब्ककझदथि या भ्हउभचतक० सँग हुन्छ। यही निकायले सोमबार ‘सटीक र व्यापक छलफल’ पछि मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको जनाएको हो। यसअघि अली खामेनीले सन् १९८९ देखि इरानको सर्वोच्च नेता भएर नेतृत्व गरेका थिए। फेब्रुअरी २८ मा तेहरानमा भएको अमेरिकी–इजरायली आक्रमणको प्रारम्भिक चरणमा उनको मृत्यु भएको बताइएको छ।
१९६९ मा जन्मिएका मोज्तबा खामेनी अली खामेनीका छ सन्तानमध्ये दोस्रो हुन्। युवावस्थामा उनले १९८० को दशकमा भएको इरान–इराक युद्धका बेला स्वयंसेवकका रूपमा भाग लिएका थिए। त्यसपछि उनले इरानको धार्मिक अध्ययनको केन्द्र मानिने कोम शहरमा शिया धर्मशास्त्रको अध्ययन गरेका थिए। लामो समयदेखि उनी धार्मिक तथा सुरक्षा संरचनाभित्र प्रभावशाली व्यक्तिका रूपमा चिनिन्थे।
युद्धका क्रममा भएको हवाई आक्रमणमा मोज्तबाकी बहिनी र केही आफन्तको मृत्यु भएको बताइएको छ। इजरायली सञ्चारमाध्यमहरूले उक्त आक्रमणमा मोज्तबा स्वयं पनि घाइते भएको रिपोर्ट गरेका छन्, यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
इरानको सबैभन्दा शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ९आईआरजीसी० ले नयाँ सर्वोच्च नेताप्रति आफ्नो समर्थन र बफादारी घोषणा गरेको छ। आईआरजीसीको मिडिया शाखा ‘सेपाह’ मार्फत जारी सन्देशमा देशको सुरक्षा र प्रतिरोधको मार्गलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
यसैबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले निरन्तर हवाई आक्रमणबीच पनि विशेषज्ञ सभा बैठक आयोजना गरेर नेतृत्व चयन प्रक्रिया पूरा गरेकोमा प्रशंसा गरेका छन्। उनका अनुसार अली खामेनीको मृत्यु पछि इरानभित्र राजनीतिक गतिरोध सिर्जना हुने आशा गरेका बाह्य शक्तिहरूको योजना असफल भएको छ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने एक मात्र उपाय ‘बिनासर्त आत्मसमर्पण’ भएको बताएका छन्। तर इरानी नेतृत्वले भने आफ्नो सर्वोच्च नेताको हत्या भएको भन्दै त्यसको बदला लिने चेतावनी दिएको छ।
विश्लेषकहरूका अनुसार युद्धकै बीचमा भएको नेतृत्व परिवर्तनले इरानको शक्ति संरचना कति स्थिर छ भन्ने संकेत दिन खोजेको छ। तर यही घटनाले मध्यपूर्वको तनाव झनै चर्किने सम्भावना पनि उत्तिकै बढाएको छ।
(अन्तर्राष्ट्रिय न्युज एजेन्सी )