अस्ट्रेलिया । एसियन कप फुटबल प्रतियोगितामा भाग लिन अस्ट्रेलिया आएका Iran की महिला फुटबल टिमका ५ खेलाडीलाई अस्ट्रेलियाले शरण दिएको छ। गत साता दक्षिण कोरियासँगको खेलमा आफ्नो राष्ट्रिय गान गाउन अस्वीकार गरेका यी खेलाडीहरू आफ्नो देश फर्किएमा जोखिममा पर्ने सम्भावनाले अस्ट्रेलियाले मानवीय भिसा प्रदान गरेको हो।
इरानी महिला फुटबल टिम करिब एक महिनाअघि एसियन कप प्रतियोगितामा भाग लिन अस्ट्रेलिया आएको थियो। सम्पूर्ण टिमलाई सहयोग गर्ने योजना भए पनि ५ खेलाडीले मात्र शरण लिने निर्णय गरेका छन्। अस्ट्रेलियाका अध्यागमन मन्त्री Tony Burke ले उनीहरूको भिसा प्रक्रिया प्रमाणित गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन्। शरण लिने खेलाडीमा Fatemeh Pasandideh, Zahra Ghanbari, Zahra Sarbali, Atefeh Ramazanzadeh र Mona Hamoudi छन्। अस्ट्रेलियाले मानवीय भिसा कार्यक्रमअन्तर्गत शरणार्थीलाई बस्न, अध्ययन गर्न र काम गर्न सक्ने सुविधा उपलब्ध गराउने गरेको छ। प्रधानमन्त्री Anthony Albanese ले उनीहरू सुरक्षित रहेको र अस्ट्रेलियालाई आफ्नो घरको रूपमा अनुभव गर्न सक्ने बताएका छन्। विपक्षी दलका सांसद Angus Taylor ले पनि सरकारको निर्णयलाई समर्थन गरेका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति Donald Trump ले पनि प्रधानमन्त्री अल्बानिजीलाई सहयोग गर्न आग्रह गरेका थिए। ट्रम्पले सामाजिक सञ्जालमा ५ खेलाडीलाई सहयोग पुर्याइएको उल्लेख गर्दै प्रधानमन्त्री अल्बानिजीको प्रशंसा गरेका छन्। टिमले खेलको सुरुवातमा राष्ट्रियगान नगरी चुप बसेको घटनाले अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको थियो। फर्किएर गए उनीहरू असुरक्षित हुन सक्ने आशंकाबीच अस्ट्रेलियाले सुरक्षा र सहयोगको हात अघि बढाएको हो।