काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र देखिएको विवाद थप गहिरिँदै गएको छ। नेपाल फुटबल प्रशिक्षक संघले एन्फाको परिसरमा केही ‘अराजक तथा फुटबल विकास विरोधी’ समूह सक्रिय भएको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत आफूहरूलाई बदनाम गर्ने प्रयास भएको जनाएको छ।
आइतबार राति जारी विज्ञप्तिमा प्रशिक्षक संघले केही व्यक्तिहरूले अमर्यादित शब्द प्रयोग गर्दै संघको प्रतिष्ठामा आघात पुर्याउने उद्देश्यले सामाजिक सञ्जालमा सामग्री पोस्ट गरेको भन्दै कडा आपत्ति जनाएको छ। संघले यस्तो गतिविधिको ‘घोर भत्सना’ गर्दै त्यसले नेपाली फुटबलको समग्र वातावरणलाई नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ।
घटनाको सुरुवात आइतबार भएको थियो, जब नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा केही खेलाडी सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेका थिए। उनीहरूले लामो समयदेखि हुन नसकेको ‘ए’ डिभिजन लिगको निश्चितता, खेलाडी अक्षय कोषको विवरण सार्वजनिक गर्नुपर्ने, तथा नौ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्ने माग अघि सारेका थिए।
तर एन्फा परिसरमा पुगेका खेलाडीहरूलाई प्रशिक्षक संघका अध्यक्ष राजेन्द्र तामाङको नेतृत्वमा रहेका प्रशिक्षकहरूले प्रवेश गर्न रोकेको बताइएको छ। यस क्रममा खेलाडी र प्रशिक्षकबीच केहीबेर भनाभन भएको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिन थालेपछि विवाद झनै चर्किएको हो।
प्रशिक्षक संघले भने घटनालाई फरक ढङ्गले व्याख्या गरेको छ। विज्ञप्तिमा खेलाडी संघका मागहरूलाई सकारात्मक रूपमा लिनुपर्ने र वार्तामार्फत समाधान खोज्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ। तर संवादका लागि आएको टोलीसँगै केही व्यक्तिहरूले सामाजिक सञ्जालमा गलत प्रचार गर्दै संघको छवि बिगार्न खोजेको प्रशिक्षक संघको आरोप छ।
नेपाली फुटबल प्रशासनभित्र पछिल्लो समय देखिएको यस्तो विवादले एन्फाको आन्तरिक व्यवस्थापन र सरोकारवाला निकायबीचको सम्बन्धमाथि प्रश्न उठाएको छ। खेलाडी, प्रशिक्षक र फुटबल प्रशासकबीचको मतभिन्नता समयमै समाधान नभए आगामी प्रतियोगिता तथा फुटबल विकास प्रक्रियामा थप असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
