काठमाडौं । नेपाल पुलिस क्लबले काभा महिला भलिबल लिगमा सशक्त प्रदर्शन गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। माल्दिभ्सको मालेस्थित शोसल सेन्टस इन्डोर हलमा आइतबार भएको खेलमा पुलिसले घरेलु टोली हुर्रा सोसाइटी क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।
पुलिसले हुर्रालाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा आफ्नो दबदबा कायम राख्यो। खेलको सुरुआतदेखि नै आक्रामक देखिएको पुलिसले पहिलो सेट २५–१९ ले जित्दै अग्रता लिएको थियो।दोस्रो सेटमा भने घरेलु टोली हुर्रा सोसाइटी क्लबले कडा प्रतिस्पर्धा दिएको थियो। दुवै टोलीबीच अन्तिम अंकसम्म प्रतिस्पर्धा चले पनि पुलिसले संयमित खेल प्रस्तुत गर्दै २६–२४ ले सेट आफ्नो पक्षमा पार्दै खेलमाथि नियन्त्रण कायम राख्यो।
तेस्रो सेटमा पुनः लय समातेको पुलिसले आक्रामक प्रदर्शन गर्दै २५–१६ को सहज जित निकाल्यो र खेललाई ३–० को नतिजामा समाप्त गर्यो। यस जितसँगै पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।अब पुलिसले सेमिफाइनलमा समूह ‘ए’ को विजेता कजाकिस्तानको बलियो टोली तुरान भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको महत्त्वपूर्ण मानिएको यो खेल सोमबार हुने तय भएको छ।