उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टी अफ कोरियाले किम जोङ उनलाई पुनः महासचिवमा सर्वसम्मत चयन गरेको छ। राज्य सञ्चालित समाचार एजेन्सी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले आइतबार पार्टी महासभाबाट किम पुनः महासचिव बनेको जनाएको हो। किम परिवारले सन् १९४० को दशकको अन्त्यदेखि देशमा शासन गर्दै आएकाले यो निर्णयलाई धेरैले अपेक्षित मानेका छन्।
किम शीर्ष नेतृत्वमै कायम रहे पनि महासभाको कार्यकारी समितिमा व्यापक फेरबदल गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द्यद्यऋले उल्लेख गरेको छ। सन् २०२१ को अघिल्लो बैठकपछि ३९ सदस्यीय समितिका आधाभन्दा बढी सदस्य परिवर्तन गरिएको राज्य सञ्चारमाध्यमले जनाएको छ।
सन् २०११ मा पिता किम जोङ इलको निधनपछि किम जोङ उनले सत्ता सम्हालेका थिए। उनले आणविक हतियार कार्यक्रमलाई उच्च प्राथमिकता दिएका छन्, जसका कारण प्योङयाङ विशेषगरी अमेरिका र पश्चिमी मुलुकका लागि चुनौती बन्दै आएको विश्लेषण गरिन्छ।
केसीएनएका अनुसार किमको नेतृत्वमा देशको युद्ध प्रतिरोध क्षमता उल्लेखनीय रूपमा सुदृढ गरिएको छ, जसको केन्द्रमा आणविक शक्ति रहेको दाबी गरिएको छ। लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्ध सामना गरिरहे पनि उत्तर कोरियाले आणविक कार्यक्रमलाई निरन्तर अघि बढाउँदै आएको छ र अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणसमेत गर्दै आएको बताइएको छ।
फेब्रुअरी १९ देखि सुरु भएको यस महासभालाई देशकै सबैभन्दा महत्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा लिने गरिन्छ। करिब ५ हजार पार्टी सदस्यको सहभागिता रहेको बैठकबाट विदेश नीति, अर्थतन्त्र र आणविक कार्यक्रमका आगामी प्राथमिकताबारे संकेत पाइने अपेक्षा गरिएको छ। महासभाको उद्घाटन सम्बोधनमा किमले देशको अर्थतन्त्र र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गर्दै यसलाई ‘गम्भीर र ऐतिहासिक कार्यभार’का रूपमा व्याख्या गरेका थिए।