काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने न्युजिल्यान्डका अलराउण्डर जिमी नीशमले पोखरा एभेन्जर्सको सामाजिक सञ्जालमा गरेको पारिश्रमिक माग सम्बन्धी कमेन्ट हटाएका छन्। नीशमले पोखरा एभेन्जर्सको इन्स्टाग्राम पोस्टमा कमेन्ट गर्दै ‘खेलाडीको पारिश्रमिक देऊ’ भनेर लेखेका थिए। उनले यो प्रतिक्रिया एभेन्जर्सले विदेशी खेलाडीलाई पारिश्रमिक पठाउन ढिला गरेको र नेपालको कानुनी उल्झनका कारण पैसा विदेश पठाउन नसकेको अवस्थाप्रति जनाएका थिए।

नीशमको कमेन्टले खेलकुद समुदायमा ठुलो चर्चा पाएको थियो। विश्वकप फाइनलमा न्युजिल्यान्डले भारतसँग उपाधि भिडन्त गुमाएपछि पोखराले खेलाडीको उच्च प्रदर्शनको प्रशंसा गर्दै पोस्ट गरेकोमा नीशमले पारिश्रमिक माग्दै प्रतिक्रिया दिएका थिए।

पोखरा एभेन्जर्सले अर्को हप्ताभित्र बाँकी पारिश्रमिक पठाउने जानकारी दिँदै कानुनी प्रक्रिया पुरा गरिरहेको जनाएको छ। सो विषयमा क्लबसँग छलफल गरेपछि नीशमले कमेन्ट हटाएका हुन्।

नीशम जस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडीले पारिश्रमिक नपाएको सार्वजनिक रूपमा जनाएपछि घटना व्यापक रूपमा समाचार बनेको थियो।