रूपन्देही । रूपन्देहीलाई दुई भागमा चिरेर बहने तिनाउ नदीको करिब पाँच किलोमिटर लामो खण्डमा अहिले एक थोपा पानी पनि छैन। नदीमाथि पुल त छ, तर पुलमुनि केवल बगर मात्रै देखिन्छ। नदीमा कमिला निर्वाध वारपार गरिरहेका दृश्य स्थानीयका लागि असाधारण छैनन्। गर्मी चढेसँगै नदीको बाटो हुँदै बह्ने तातो हावा र बालुवाले स्थानीयलाई सताउँछ भने बर्खामा पहाडबाट आउने बाढीले रातभर सुत्न नदिने गर्छ।
नदी किनारमा बसोबास गरेका ६३ वर्षीय लालबहादुर कुँवर का अनुसार गर्मी बढेसँगै चुनावको समय आउँदा आश्वासनको बाढी पनि नदीको वारिपारी छ। “चुनावमा आश्वासन बोकेर आएका नेताहरूलाई पटक–पटक जिताएर पठायौं, तर पछि कोही फर्केनन्। यहाँको समस्या भनेर सकिने छैन, सुन्नुपर्ने मान्छे चुनावमा मात्र आउँछ,” उनले भने।
लालबहादुर उभिएको जमिन स्थिर छ, तर नदीको पानी र उनीहरूको भविष्य अस्थिर छ। जमिन उनीहरूको नाममा नभएकाले सरकारले हटाइदिने कि बाढीले बगाउने चिन्ता सधैं रहने गरेको छ। स्थायी बसोबासका लागि लालपुर्जा दिने आश्वासनले चुनाव आउँदा मात्र रंग लिन्छ। यसपटक ३ वर्षमै चुनाव आएपछि लालबहादुरले अपेक्षा गरेभन्दा छिटो आश्वासन पाइरहेका छन्।
चुनावी दौडमा नयाँ र पुराना दलका उम्मेदवारहरू सबै आए, “हामीलाई भोट दिनुहोस्, हामी लालपुर्जा उपलब्ध गराउँछौं” भन्दै। तर लालबहादुर भित्रभित्रै दिक्क छन्। भूमि उनीहरूको संविधान प्रदत्त अधिकार भए पनि नेताहरूले भोटसँग साट्न खोज्छन्। “भोट दिए पनि, नदिए पनि लालपुर्जा पाउने हाम्रो अधिकार हो। तर नेताहरू भोटसँग साट्न खोज्छन्। भोट दिइयो, सरकारमा पनि गए, तर भेट्न आएनन्, हामीले भेट्न पनि पाएनौं,” उनले भने।
तिनाउ नदीको सुख्खा बगरमा अडिएका ढुंगाहरू बर्खामा पहाडबाट बगेर आएको पानीसँगै गुडुल्की मार्दै नदीमा पुगेका हुन्। लालबहादुर पनि पहाडमा बस्न र खानुपरेको अवस्था नभएकाले हण्डर खाँदै तिनाउ किनारमा टहरा बनाएर बसेका छन्। लालबहादुरका ८ दाजुभाइ र ३ दिदीबहिनी थिए। गुल्मीको घर र बारी बिक्री भएपछि उनीहरूको परिवार सुकुम्बासी बनेको थियो। १३ वर्षको उमेरमा भारतको दिल्ली गएर काम गरे, १० वर्ष बिताए, घर फर्किंदा केही थिएन। बुटवल आए, बिहे गरे, सिद्धार्थ राजमार्गमा चिया पसल राखेर जीविका चलाए। तर नगरपालिकाले अनेक अवरोध गरे। ट्याक्सी चलाउने काम पाए पनि नियमित तलब नपाउँदा कोठा भाडामा बस्न पनि कठिन भयो। तिनाउ नदीको धार पश्चिम किनारामा सरेपछि उनीहरू बस्न थालेको बस्ती बगर बनेको थियो। लालबहादुर र उनकी पत्नी इन्द्रकला कुँवर ले बगर पुरेर टहरा बनाए। यो तिनाउ किनारमा टहरा बनाउने पहिलो लहरका सुकुम्बासी हुन्।
स्थानीयहरू पहिले यहाँ भैंसी चराउन लैजान्थे, तर अब स्थिति स्थिर छ। लालबहादुर र उनका छिमेकी अब भोटसँग आश्वासन साट्ने पक्षमा छैनन्। विगतमा वाचा गरेर सत्ता सम्हालेका नेताहरूले समस्या समाधान नगरेको अनुभवका कारण उनीहरू भोट सोचविचार गरेर मात्र हाल्ने तयारीमा छन्। स्थानीय सीता आब्जू भन्छिन्, “हामी हाम्रो अवस्था परिवर्तन होस् भनेर अब सोचविचार गरेर मात्र भोट हाल्नेछौं।” रूपन्देहीका सुकुम्बासीका लागि यस चुनाव केवल नेताको आश्वासन पाउने अवसर मात्र नभएर स्थायी अधिकार र जीवन सुरक्षाको लागि महत्वपूर्ण मोड हो। लालबहादुर भन्छन्, “हामी राज्यको अनुभूति पाउन चाहन्छौं, देशको नागरिक अधिकार चाहन्छौं। अब हामी आफ्नो अधिकारको लागि सोचविचार गर्न तयार छौं।”
सुकुम्बासी बस्तीमा हुने भोट खरिद, आर्थिक प्रलोभन, भोजभतेर जस्ता गतिविधिमा उनीहरू सहभागी हुने पक्षमा छैनन्। “भोट माग्न मिठा आश्वासन, भोजभतेर र पैसाको खेलोमेलो हुने गरेको पहिले–पहिले सुनेको थिएँ। तर अब त्यस्ता काममा म सहभागी हुँदिनँ, भोलि नेताले गरेको खर्च हामीसँगै उठाउने त हो नि,” लालबहादुरले भने। यसरी तिनाउ नदी किनारका सुकुम्बासीहरूले स्थायी अधिकार, लालपुर्जा र नागरिक अधिकारका लागि भोट परिवर्तन गर्ने संकेत दिएका छन्। उनीहरूको अनुभवले देखाउँछ कि चुनाव केवल आश्वासन र वाचा नभई वास्तविक अधिकार र जीवन सुरक्षाको माध्यम बन्ने खालको हुनुपर्छ।