उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सुरु गरेको संयुक्त सैन्य अभ्यासले कोरियाली प्रायद्वीपमा ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएकी छन्। मङ्गलबार सार्वजनिक गरिएको वक्तव्यमा उनले सियोल र वासिङ्टनले सञ्चालन गरिरहेको वार्षिक सैन्य अभ्यासलाई गम्भीर उक्साहटको कदम भन्दै यसले क्षेत्रीय तनाव झन् बढाउने बताइन्।

दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि आफ्नो वसन्तकालीन संयुक्त सैन्य अभ्यास ‘फ्रिडम सिल्ड’ सुरु गरेका छन्। यो अभ्यास मार्च १९ सम्म सञ्चालन हुने बताइएको छ। दक्षिण कोरियाका करिब १८ हजार सैनिक यस अभ्यासमा सहभागी हुने जानकारी दिइएको छ भने अमेरिकी सैनिकको सङ्ख्या सार्वजनिक गरिएको छैन।

आणविक हतियार सम्पन्न उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासहरूलाई लामो समयदेखि आफ्नो देशमाथि आक्रमणको तयारीको अभ्यासका रूपमा आरोप लगाउँदै आएको छ। सन् १९५० मा दक्षिण कोरियामाथि आक्रमण गरेपछि सुरु भएको कोरियाली युद्धदेखि नै दुवै कोरियाबीच तनाव कायम छ।

किम यो जोङको भनाइ प्योङयाङस्थित सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले उद्धृत गरेको हो। उनले यस्तो सैन्य गतिविधिले क्षेत्रीय सुरक्षामा थप अस्थिरता ल्याउने चेतावनी दिएकी छन्।

हालै उनी उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको सामान्य मामिला विभागको प्रमुख पदमा पदोन्नति भएकी छन्। विश्लेषकहरूले यस पदलाई पार्टीभित्र अत्यन्त प्रभावशाली जिम्मेवारीका रूपमा लिने गरेका छन्।

उनको प्रतिक्रिया त्यतिबेला आएको हो जतिबेला उनका दाजु किम जोङ उनले दक्षिण कोरियाले अघि सारेका शान्ति प्रस्तावहरूलाई ‘असङ्गत भ्रामक प्रहसन’ भन्दै अस्वीकार गरेका थिए। उनले उत्तर कोरिया र दक्षिण कोरियाबीच कुनै प्रकारको सहकार्य वा लेनदेनको सम्भावना नरहेको धारणा पनि व्यक्त गरेका थिए।

किम यो जोङले अहिले विश्व सुरक्षाको अवस्था कमजोर बन्दै गएको र विभिन्न क्षेत्रमा युद्धका घटनाहरू बढ्दै गएको भन्दै संयुक्त सैन्य अभ्यासलाई संवेदनशील समयमा गरिएको कदमका रूपमा टिप्पणी गरेकी छन्।

यसैबीच प्योङयाङले हालै इरानमाथि अमेरिका र इजरायलले गरिरहेको आक्रमणलाई पनि ‘अवैध आक्रमण’ भन्दै कडा शब्दमा निन्दा गरेको छ।

उत्तर कोरिया र संयुक्त राज्य अमेरिका दशकौँदेखि राजनीतिक तथा सैन्य रूपमा विरोधी रहेका छन्। यद्यपि पछिल्ला महिनाहरूमा वासिङ्टनले प्योङयाङसँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने संकेत देखिएको छ। केही विश्लेषकहरूले यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच सम्भावित शिखर सम्मेलन हुन सक्ने अनुमानसमेत गरेका छन्।