प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमत प्राप्त गरेको देखिएको छ। परिणाम सार्वजनिक हुँदै जाँदा छिमेकी मुलुक भारतका मिडियाले पनि नेपालको राजनीतिक परिवर्तनलाई विशेष प्राथमिकताका साथ चर्चा गरेका छन्। हालसम्मको मतपरिणाम अनुसार रास्वपाले बहुमत हासिल गर्ने अवस्था देखिएको छ। यससँगै बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनेको भन्दै भारतीय सञ्चारमाध्यमहरूले व्यापक रूपमा समाचार प्रकाशन गरेका छन्।
नेपाल–भारत सम्बन्ध विगतदेखि नै उतारचढावपूर्ण रहँदै आएको अवस्थामा नयाँ सरकारको नीति र कूटनीतिप्रति भारतमा चासो देखिएको भारतीय मिडियाका समाचारबाट बुझिन्छ। भारतीय दैनिक नवभारत टाइम्सले प्रकाशित गरेको समाचारमा नेपालका परम्परागत दलको स्थानमा रास्वपा र बालेन शाहजस्ता युवा नेतृत्वलाई जनताले रोजेको उल्लेख गरिएको छ। समाचारमा रास्वपाले साँच्चै ठूलो परिवर्तन ल्याउन सक्छ कि विगतका नेताजस्तै जनविश्वास गुमाउँछ भन्ने प्रश्न पनि उठाइएको छ।
उक्त पत्रिकाले नयाँ सरकारसमक्ष धेरै चुनौतीहरू रहेको उल्लेख गर्दै अधिकांश नयाँ सांसदसँग राजनीतिक तथा प्रशासनिक अनुभव कम भएकाले कर्मचारीतन्त्रसँग समन्वय गरेर जनताको अपेक्षा पूरा गर्नु मुख्य चुनौती हुने टिप्पणी गरेको छ। चुनावमा गरिएका प्रतिबद्धता, विशेषगरी रोजगारी सिर्जना गर्ने विषय पनि नयाँ सरकारका लागि सहज नहुने उल्लेख गरिएको छ।
यसैगरी नयाँ सरकारले छिमेकी भारत र चीनसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्नु महत्वपूर्ण चुनौती हुने भारतीय मिडियाले उल्लेख गरेका छन्। सन्तुलित नीति अपनाउँदै विकास र ऊर्जा क्षेत्रमा भारतसँग सहकार्य बढाउन सके नेपालको स्थिरता र क्षेत्रीय सन्तुलन दुवैलाई फाइदा पुग्ने विश्लेषण गरिएको छ।
भारतीय दैनिक दैनिक जागरणले पनि नेपालको चुनावी परिणामबारे समाचार प्रकाशित गर्दै परम्परागत राजनीतिक दल र तिनका नेता किनारामा परेको उल्लेख गरेको छ। समाचारमा अहिले नेपालभर बालेन्द्र शाहको लोकप्रियताको चर्चा भइरहेको उल्लेख गरिएको छ।
त्यस्तै अमर उजालाले बालेन शाह प्रधानमन्त्री बन्ने जनादेश आएको भन्दै भिडियो रिपोर्टसमेत सार्वजनिक गरेको छ। दैनिक जागरणकै अनलाइन संस्करणमा अन्तर्राष्ट्रिय मामिलाका जानकार डा. ऋषि गुप्ताको आलेख प्रकाशित गर्दै नेपालमा बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावना प्रबल भएको उल्लेख गरिएको छ। उनले बालेन लोकप्रिय नेता भए पनि प्रधानमन्त्रीका रूपमा कार्यशैली कस्तो रहने भन्ने विषय महत्त्वपूर्ण हुने बताएका छन्।
हिन्दुस्तान टाइम्सले बालेन शाहलाई लोकप्रिय नेताका रूपमा चित्रण गर्दै भारतमा पनि उनको चर्चा भइरहेको उल्लेख गरेको छ। नेपाल–भारत सीमा विवाद समाधान गरी दुवै देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन नयाँ नेतृत्वले पहल गर्नुपर्ने भारतीय विश्लेषकहरूको सुझाव पनि समाचारमा समेटिएको छ।
त्यस्तै एबीपी न्यूज को अनलाइन संस्करणले पनि नेपालको निर्वाचन परिणामले पुराना दलहरूलाई कमजोर बनाउँदै रास्वपा र बालेन शाहलाई नयाँ शक्तिका रूपमा स्थापित गरेको उल्लेख गरेको छ।
विश्लेषकहरूका अनुसार यस निर्वाचन परिणामले नेपालमा लामो समयदेखि जारी राजनीतिक अस्थिरता अन्त्य भई स्थिर सरकार बन्ने सम्भावनालाई बलियो बनाएको छ।