मुगुमा अझै मतगणना सुरु भएन, ८० किलोमिटर हिँडेर मतपेटिका सदरमुकाम ल्याइँदै। देशका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी रहेका बेला मुगुमा भने अझै मतपेटिका संकलन हुन बाँकी रहेको छ। दुर्गम भौगोलिक अवस्थाका कारण दुई मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम ल्याइँदैछ।
मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार मुगूम कार्मारोङ गाउँपालिकाका मुगु गाउँ केन्द्र र डोल्फु केन्द्रको मतपेटिका बाटोमै बोकेर ल्याइँदैछ। ती केन्द्रबाट मतपेटिका करिब ८० किलोमिटर दुरी हिँडेर सदरमुकाम पुर्याउनुपर्ने अवस्था रहेको उनले बताए।
उनका अनुसार उकालो–ओरालो बाटो पार गर्दै मतपेटिका ल्याइँदै रहेकाले संकलनमा ढिलाइ भएको हो। सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको छ। दिउँसो २ बजेपछि मतगणना सुरु हुने अपेक्षा गरिएको छ।
मुगुमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ। यस क्षेत्रमा नेकपा एमालेबाट पूर्णबहादुर रोकाया, नेपाली कांग्रेसबाट खड्ग शाही, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमाटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ऐटनकुमार मल्ल तथा नेकपा माओवादी केन्द्रबाट रंगवीर परियार उम्मेदवार रहेका छन्।
दुर्गम भूगोलका कारण मुगुमा निर्वाचन प्रक्रिया प्रायः अन्य जिल्लाभन्दा ढिलो हुने गरेको छ।
मुगुमा अझै मतगणना सुरु भएन, ८० किलोमिटर हिँडेर मतपेटिका सदरमुकाम ल्याइँदै