किभ । रुस र युक्रेन बीच युद्ध जारी रहेकै अवस्थामा दुवै देशले एकअर्काका सैनिकका शव आदान–प्रदान गरेका छन् । रुसी पक्षले १ हजार युक्रेनी सैनिकको शव हस्तान्तरण गरेको तथा बदलामा ३५ रुसी सैनिकका शव प्राप्त गरेको जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन का वरिष्ठ सहयोगी भ्लादिमिर मेदिन्स्की ले टेलिग्राममार्फत संक्षिप्त वक्तव्य जारी गर्दै शव साटासाट भएको जानकारी दिएका हुन् । उनले थप विवरण खुलाएका छैनन्, तर ट्रकबाट शव झारिँदै गरेको तस्बिर सार्वजनिक गरेका छन् । केही घण्टापछि युक्रेनले पनि १ हजार शव प्राप्त गरेको पुष्टि गर्दै ती शव पूर्व जानकारीअनुसार युक्रेनी रक्षकहरूकै हुन सक्ने जनाएको छ ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले जेनेभा वार्ताअघि रुसले युक्रेनका छ वटा क्षेत्रमा ४२० ड्रोन र ३९ मिसाइल प्रहार गरेको आरोप लगाएका छन् । उनका अनुसार उक्त आक्रमणमा दर्जनौँ व्यक्ति घाइते भएका छन् । जेनेभामा युक्रेनका मुख्य वार्ताकारहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का दूतहरूसँग युद्धपछिको पुनर्निर्माणसम्बन्धी आर्थिक योजनामा छलफल गरेका छन् । साथै, द्वन्द्व अन्त्यका लागि अमेरिकी पहलमा तेस्रो चरणको त्रिपक्षीय वार्ताको तयारी भइरहेको जनाइएको छ, जसमा रुसी पक्षसमेत सहभागी हुने अपेक्षा गरिएको छ ।
सन् २०२२ फेब्रुअरी २४ मा रुसले पूर्णस्तरमा आक्रमण सुरु गरेयता जारी युद्ध अहिले पाँचौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा दुवै पक्षले हजारौँ सैनिकका शव साटासाट गरिसकेका छन् ।