काठमाडौं । टी–२० विश्वकपको उपाधि भिडन्तमा भारतले विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै न्युजिल्यान्डसामु २५६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको उच्च स्कोर खडा गरेको हो।

भारतको इनिङ्समा ओपनर सञ्जु स्यामसनले सर्वाधिक प्रभावशाली प्रदर्शन गरे। उनले ४६ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ८९ रन बनाए। स्यामसन यस विश्वकपमा लगातार तीन खेलमा अर्धशतक बनाउने पहिलो खेलाडीसमेत बने। यसअघि उनले इङ्ल्यान्डविरुद्ध ८९ तथा वेस्ट इन्डिजविरुद्ध अविजित ९७ रन बनाएका थिए।

अर्का ओपनर अभिषेक शर्माले पनि आक्रामक सुरुआत दिलाए। उनले २१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन जोडे। त्यसपछि इशान किशनले मध्यक्रममा राम्रो साथ दिँदै ५४ रनको योगदान गरे, जसले भारतलाई विशाल स्कोरतर्फ अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्यो।

इनिङ्सको अन्तिम चरणमा शिवम दुबेले आक्रामक ब्याटिङ गर्दै रनगति अझ तीव्र बनाए। उनले ८ बलमा ३ चौका र २ छक्कासहित अविजित २६ रन जोडे। हार्दिक पाण्ड्या १८ रनमा आउट भए भने तिलक वर्मा ८ रनमा अविजित रहे।

न्युजिल्यान्डका लागि जिम्मी निशम सबैभन्दा सफल बलर बने। उनले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए। त्यस्तै म्याट हेनरी र रचिन रविन्द्रले समान १–१ विकेट लिए।

भारतले दिएको २५६ रनको लक्ष्य टी–२० क्रिकेटका हिसाबले निकै ठूलो मानिन्छ। अब उपाधि जित्न न्युजिल्यान्डले आक्रामक ब्याटिङ गर्दै ऐतिहासिक लक्ष्य पछ्याउनु पर्ने दबाबमा परेको छ।