काठमाडौं । सन् २०२५ मा पेशागत कर्तव्य निर्वाह गर्ने क्रममा विश्वभर १२९ जना पत्रकार तथा सञ्चारकर्मी मारिएको तथ्यांक सार्वजनिक भएको छ। Committee to Protect Journalists (सीपीजे) ले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो।
न्यूयोर्कस्थित गैरनाफामूलक संस्था सीपीजेका अनुसार पत्रकारको मृत्यु संख्या लगातार दोस्रो वर्ष पनि कीर्तिमान स्तरमा पुगेको छ। सन् १९९२ देखि तथ्यांक संकलन सुरु गरेयता कुनै पनि सरकारको सेनाभन्दा Israel Defense Forces (आईडीएफ) ले बढी लक्षित रूपमा पत्रकारहरूको हत्या गरेको दाबी प्रतिवेदनमा गरिएको छ।
सीपीजेका अनुसार सन् २०२५ मा इजरायल–सम्बन्धित घटनामा ८६ जना पत्रकार मारिएका थिए। तीमध्ये ५५ जना गाजाका प्यालेस्टिनी पत्रकार थिए भने केही यमनस्थित हाउथी सञ्चार केन्द्रमा मारिएका थिए, जसलाई आईडीएफले उक्त समूहको ‘प्रोपागान्डा आर्म’ भनेको छ।
प्रतिवेदनअनुसार कुल १२९ मध्ये कम्तीमा १०४ जना पत्रकार सशस्त्र द्वन्द्वसँग सम्बन्धित घटनामा मारिएका थिए। गाजा र यमनबाहेक पत्रकारका लागि सबैभन्दा घातक देशमा सुडान (९ जना) र मेक्सिको उल्लेख छन्। युक्रेनमा रुसी सेनाका कारण ४ जना पत्रकार मारिएका थिए, जुन सन् २०२२ मा मारिएका १५ जनाभन्दा कम हो। फिलिपिन्समा ३ जना पत्रकारको मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ।
आईडीएफको खण्डन
आईडीएफले भने सीपीजेका दाबी अस्वीकार गर्दै आफूले जानाजानी पत्रकार वा उनीहरूका परिवारलाई हानि नपुर्याउने जनाएको छ। प्रतिवेदन ‘सामान्य आरोप, अज्ञात स्रोतका तथ्यांक र पूर्वनिर्धारित निष्कर्षमा आधारित रहेको तथा युद्धको जटिलता र गैर–युद्धरत नागरिकलाई हुने क्षति कम गर्न गरिएका प्रयासलाई बेवास्ता गरिएको’ आईडीएफको भनाइ छ।
प्रतिवेदनमा नासेर अस्पताल, खान युनिसमा भएको आक्रमणमा मारिएका Reuters का पत्रकार हुस्साम अल–मस्रीको नाम पनि समावेश छ। साथै, आईडीएफले अल जजीरा पत्रकारको भेषमा रहेको दाबी गरेका हमाससम्बद्ध व्यक्तिको घटनासमेत उल्लेख गरिएको छ। आईडीएफले Shin Bet सँगको सहकार्यमा सम्बन्धित व्यक्तिहरूको हमास तथा अल–कासाम ब्रिगेड्ससँग सम्बन्ध रहेको दाबी गर्दै केही आन्तरिक कागजात सार्वजनिक गरेको जनाएको छ।
सीपीजेले भने पत्रकारको सुरक्षामा विश्वव्यापी प्रतिबद्धता कमजोर बन्दै गएको उल्लेख गर्दै द्वन्द्वग्रस्त क्षेत्रमा स्वतन्त्र र सुरक्षित पत्रकारिताको सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न आग्रह गरेको छ।