फ्रान्सको एक अदालतले पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अवैध आर्थिक सहयोगसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै जेल सजाय भोग्नुपर्ने फैसला सुनाएको छ। सोमबार आएको अदालतको निर्णयसँगै सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति रहेका सार्कोजीले पुनः जेल सजाय भोग्नुपर्ने भएको छ। अदालतको आदेशअनुसार उनले खुट्टामा विद्युतीय अनुगमन यन्त्र लगाएर सजाय पूरा गर्नुपर्ने सम्भावना रहेको बताइएको छ।
सार्कोजीले यसअघि डिसेम्बर २०२४ मा चर्चित ‘बिस्मथ’ मुद्दामा आफ्नो अन्तिम कानुनी प्रयास गुमाएका थिए। उक्त मुद्दामा न्यायाधीशलाई प्रभावित पार्ने प्रयास गरेको आरोपमा उनलाई आपराधिक षड्यन्त्रको अभियोग लगाउँदै पाँच वर्षको जेल सजाय सुनाइएको थियो। उनले ती आरोपहरू अस्वीकार गर्दै आएका छन्।
गत वर्ष नोभेम्बरमा उनले अर्को ‘बाइग्मेलियन’ मुद्दामा पनि सजाय पाएका थिए। सन् २०१२ को असफल पुनःनिर्वाचन अभियानमा अवैध रूपमा चुनावी खर्च जुटाएको आरोपमा फ्रान्सको सर्वोच्च अदालतले उनलाई छ महिनाको जेल सजाय कायम गरेको थियो। दुवै मुद्दाको सजाय अवधि गाभ्न गरिएको उनको अपिल अदालतले अस्वीकार गरिदिएको छ।
यसअघि सन् २००७ को राष्ट्रपतीय चुनावका लागि लिबियाबाट अवैध आर्थिक सहयोग लिएको आरोपमा पनि उनलाई जेल सजाय सुनाइएको थियो, जसअन्तर्गत उनले गत वर्ष २० दिन जेल बसिसकेका छन्। उक्त मुद्दामा उनले अझै अपिल गरेका छन्।
सार्कोजी आधुनिक फ्रान्सको इतिहासमा जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति मानिन्छन्। दोस्रो विश्वयुद्धपछि जेल परेका नाजी समर्थक राष्ट्रप्रमुख फिलिप पेटेनपछि जेल पुग्ने पहिलो फ्रान्सेली नेता पनि उनी नै हुन्। पदबाट बाहिरिएपछि विभिन्न कानुनी विवादमा परे पनि सार्कोजी फ्रान्सेली राजनीतिमा अझै प्रभावशाली व्यक्तिका रूपमा हेरिने गरेका छन्।