खोटाङ । खोटाङ जिल्ला अस्पताल मा पहिलोपटक पाठेघर खस्ने (आङ खस्ने) समस्याको निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ। सेवा सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि समेत ठूलो खर्च गरेर काठमाडौँ वा विराटनगर धाउनुपर्ने जिल्लावासीको बाध्यता हटेको छ।
अस्पतालमा सेवा सुरु भएलगत्तै दुई जना महिलाको सफल शल्यक्रिया सम्पन्न भइसकेको अस्पताल प्रमुख डा। अमिताब ठाकुरले जानकारी दिए। उनका अनुसार जिल्लामै उपलब्ध विशेषज्ञताको प्रयोग गरी विपन्न तथा पहुँचविहीन महिलालाई लक्षित गर्दै सेवा सुरु गरिएको हो। अस्पतालले पाठेघर खस्ने समस्याको शल्यक्रियासँगै पाठेघरको मुखको क्यान्सर परीक्षण, बाँझोपन उपचार तथा जटिल प्रसूति सेवा ९दोस्रो पटकको शल्यक्रिया० समेत उपलब्ध गराउन थालेको जनाएको छ।
जिल्लामै विशेषज्ञ चिकित्सकबाट निःशुल्क उपचार पाइने भएपछि लामो समयदेखि समस्या लुकाएर बसेका महिलाहरू उपचारका लागि अस्पताल आउन थालेका छन्। जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं समन्वय समिति प्रमुख सनबहादुर राईका अनुसार सम्बन्धित मन्त्रालयसँग समन्वय गरी विशेषज्ञ चिकित्सकको व्यवस्था गरेर सेवालाई दीर्घकालीन बनाउने प्रयास गरिएको हो।
यसअघि खोटाङका १० वटै स्थानीय तहमा पाठेघरको शल्यक्रिया सुविधा नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता थियो। केही समयअघि मात्रै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिका ले दर्जनौँ महिलालाई गाडी रिजर्भ गरेर बनेपासम्म लगेर उपचार गराएका थिए।
अब भने जिल्लामै गुणस्तरीय सेवा उपलब्ध भएपछि स्थानीय तहले बिरामी बाहिर पठाउन ठूलो रकम खर्च गर्नुपर्ने अवस्था अन्त्य हुने विश्वास गरिएको छ। उपचार अभावमा जटिलता बढ्ने र ज्यान जोखिममा पर्ने अवस्थाबाट राहत मिलेको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।