जनकपुर । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्युलाई पुनः निरन्तरता दिएको छ। आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म आंशिक रूपमा खुकुलो गरिए पनि त्यसपछि फेरि कर्फ्यु लागू गरिएको हो।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को सूचना जारी नभएसम्म कर्फ्यु कायम रहने जानकारी दिएका छन्।

प्रशासनका अनुसार कर्फ्यु लागू गरिएको क्षेत्रको पूर्व सिमाना मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालयसम्म तोकिएको छ। प्रशासनले शान्ति–सुरक्षा कायम गर्न सर्वसाधारणलाई सहयोग गर्न आग्रह गर्दै कर्फ्यु आदेश उल्लंघन गरे कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदाय प्रार्थनामा रहेका बेला हिन्दू समुदायले बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद चर्किँदै हिंसात्मक झडपमा परिणत भएको र त्यसको प्रभाव गौरका अन्य वडासम्म फैलिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर तथा अश्रुग्यास प्रहार गरेको जनाएको छ।